Techie IT
×
गृहपृष्ठसमाजगल्छि स्याफ्रु सडकमा ३२ पुल

गल्छि स्याफ्रु सडकमा ३२ पुल


बिदुर/चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–स्याफ्रु सडक खण्डमा ३२ वटा पुल निर्माण गरिने भएको छ ।
ती पुल डेढ वर्षभित्र निर्माण भइसक्ने छन् । हाल गल्छीदेखि मैलुङहुँदै स्याफ्रुसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ। जसमा पुल निर्माण पनि पर्छ । यस सडक खण्डमा अहिले १६ वटा पुल निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७७÷७८ भित्र बाँकी १६ वटा पुलको डिजाइन गर्ने, ठेक्का लगाउने र सम्झौता गर्ने तयारी रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । १६ वटा पुल निर्माणको काम करिब ५५ प्रतिशत सकिएको छ । योजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार आर्थिक वर्ष २०७८÷७९ भित्रमा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आउने छ ।
गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर सडकको स्तरोन्नति भैरहेको छ । जसमा पहिलो र दोस्रो खण्डमा नेपाली पक्षले पुल निर्माण पनि गर्नुपर्ने हुन्छ । यस खण्डमा रहेका केही पुलमा डिजाइनको रिभ्यू गर्नुपर्ने भएको आयोजनाले जनाएको छ । बाँकी पुल निर्माणमा अहिलेसम्म समस्या नआएको आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताउनु भयो ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक खण्डमा निर्माण हुने पुलमध्ये ११ वटा पुलको लागि छुट्टै बजेट आएको छ । बाँकी २१ वटा पुल सडक शीर्षक अन्तर्गत बजेट रहेको बतायृएको छ । योजनाका अनुसार तीनवटा पुल कलात्मक खालको बनाइने छ । जसमा बट्टार, विदुर र त्रिशूली थ्रिए जलविद्युत् आयोजना क्षेत्रमा कलात्मक पुल बन्ने छ । जलविद्युत् आयोजना क्षेत्रमा फ्लाई ओभर पुल निर्माण हुने छ ।
योजनाले गल्छी–मैलुङ र मैलुङ स्याफ्रु सडक खण्डको स्तरोन्नतिको काम गर्ने छ । जसमा हालसम्म ६५ प्रतिशत काम सकिएको छ । पहिलो खण्ड अन्तर्गत गल्छी मैलुङ क्षेत्रमा सडकको कालोपत्रे गर्ने, भीर काट््ने लगायतका काम सञ्चालन भइरहेको छ ।
दोस्रो खण्डको रूपमा रहेको मैलुङ स्याफ्रु सडक खण्डमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ । सडक चौडा बनाउने काम पनि ६५ प्रतिशत सकिएको छ ।
पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन । गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती नहुने आयोजनाले जनाएको छ ।
मैलुङ–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ । २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ ।



तपाईको प्रतिक्रिया