Techie IT
×
गृहपृष्ठअन्तर्वार्ता‘छठमा बजार हाबी भयो, नाटकमा पश्चिम’

‘छठमा बजार हाबी भयो, नाटकमा पश्चिम’


चर्चित संस्कृतिविद एवं रंगकर्मी रमेशरञ्जन झा यसवर्ष छठको समयमा गृहजिल्ला धनुषा नगई काठमाडौंमै छन् । कोरोनाका कारण दुरी कायम गरेर छठ मनाउन सुझाव दिने उनी बजारीकरणले गर्दा छठको मौलिकता हराउँदै गएकोमा चिन्तित छन् ।

धनुषामा जन्मेका झा मैथिलीसँगै नेपाली, हिन्दी, भोजपुरी र अंग्रेजीमा दख्खल राख्छन् । उनी २०६७ देखि २०७४ सम्म दुई कार्यकाल संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रहे । रंगमञ्च र साहित्यसँगै सांस्कृतिक खोज र अनुसन्धानमा पनि उनको योगदान छ । मैथिली भाषा-संस्कृतिको उत्थानका लागि उनको योगदान छ । अहिले उनी युनेस्को नेपालको सांस्कृतिक विभाग प्रमुख छन् । सिने कलाकार, साहित्यकार एवं सांस्कृतिक अध्येताको परिचय बनाएका झाका दुई कविता संग्रह, दुई नाटक र उपन्याससहित आठवटा पुस्तक प्रकाशित छन् ।

छठ पर्वको अवसरमा झासँग छठको सांस्कृतिक विशिष्टता, मैथिली भाषा साहित्यको अवस्था अनि नेपाली नाटकको वर्तमान अवस्थाबारे अनलाइनखबरकर्मी निर्भिकजंग रायमाझीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ –

नेपाली मिडियामा दसैं र तिहारको जति चर्चा परिचर्चा हुन्छ, छठको चर्चा अलि कमै हुने गरेको छ । मिथिला सभ्यताको मौमिक छठको सांस्कृतिक महत्व के छ ?

छठ पर्वको अन्तर्य प्रकृतिको उपासना हो । मूर्तिपूजा प्रारम्भ हुनुभन्दा अघिको जीवित स्वरूप ‘छठ’ हो । यो चाडका सबैकुरा प्रकृतिसँग सम्बन्धित छन्, जहाँ मानव जीवन रक्षाका लागि सूर्य, जल आदि प्राकृतिक शक्तिको पूजा गरिन्छ ।

छठ ऋग्वेदकालीन चाड हो । मनुष्यले सुरु गरेको पूजा परम्पराको पुरानो स्वरुप छठ पर्व हो । सूर्य त्यहीँ छ, सरोवर त्यहीँ छ । आखिर हामी नदी सभ्यताबाट आएका हौं । यसैले सरोबरमा टेकेर (जलाशय) रहेर सूर्यको पूजा गर्ने कुरा अर्थपूर्ण छ ।

छठमा गाइने विशेष गीत वा भजन कस्ता हुन्छन् ?

स्थानविशेष अनुसार आ-आˆनै प्रकारले छठमा गीत गाइन्छ । जस्तो :

उ जे केरबा फरल घओद से
ओइपर सुगा मडराए
मारबौ रे सुगबा धनुष से
सुगा गीरे मुरछाय
सुगनी जे रोअले वियोग से
उदित होइयौ ने सहाय ।

यो लोकगीतको अर्थ के हुन्छ भने, केरा बोटमा फलेको छ, त्यसमाथि सुगा चक्कर काट्दैछ, जूठो पार्नलाई, सुगालाई धनु बाणले प्रहार गर्दा सुगा मूर्छित भएर लड्यो, सुगनी सुगाको वियोगमा रोइरहेकी छिन्, सूर्य देव कृपा गर्नुहोस् ।

यो गीतको पृष्ठभूमि के हो भने छठी पर्वमा प्रयोग हुने चिज पवित्र हुनुपर्‍यो । कुनै चरा वा केहीले पनि जूठो गरेको हुनु भएन । अनि केही आपत पर्छ भने त्यसलाई सूर्यदेवले रक्षा गरून् ।

दसैं तिहारमा हुने तडक-भडकले गरीबलाई सताउने गरेको छ । छठमा पनि अन्य चाडपर्वमा जस्तै विकृति बढेको छ कि छैन ? तपाई‌ंलाई कस्तो लाग्छ ?

अचेल चाडपर्व मान्छेको सामथ्र्य देखाउने माध्यम भएको छ । पहिला व्यक्तिगत क्षमता देखाउने माध्यम विवाह, ब्रतबन्ध हुन्थ्यो । सामान्य आर्थिक अवस्था भएका मानिसलाई यी शुभकार्यले पिल्स्याउने सम्भावना हुन्थ्यो । अहिले त चाडपर्वमै पनि देखासिकी बढेको छ ।

हिजो छठ मनाउने सामग्री सबै स्थानीय उत्पादनबाटै पर्याप्त हुन्थ्यो । उखु, अदुवा, बेसार, ठकुवा (मिठाइ) बनाउने गहुँ, भुसवा बनाउने चामल र गुँढ सबै स्थानीय उत्पादन हुन्थे । भोगटे बारीमै पाइन्थ्यो । अर्थात् सबै हाम्रा खेतबारीमै उत्पादन हुने सामग्रीले छठ मनाउन पाइन्थ्यो । यसबाहेक छठ शिल्पी जातिसँग जोडिएको छ । यस जातिको जीवन रक्षा गर्न डुम जातिले बनाउने नाङ्लो, टोकरी, डाली उपयोग हुन्थ्यो । माटोका भाँडाकुँडा कुमालेले नै बनाउँथे ।

अहिले बजारीकरणले सबै कुरा आयात गर्नुपर्ने बाध्यता भएको छ । व्यापारिक दृष्टिमा यो सकारात्मक नै मान्न सकिएला । तर, स्थानीय समानभन्दा बाहिरको सामानमात्रै रोज्नु ठीक होइन । छठलाई प्रदर्शनको माध्यम बनाउने, देखासिकी गर्ने कामले बजारिया संस्कृति हाबी हुन्छ । यसले पर्वलाई बजारको नियन्त्रणमा लैजाने सम्भावन धेरै हुन्छ । त्यसपछि संस्कृति, रीतिथितिको प्रभावभन्दा बढी बजारले हाम्रो सोचमा असर गर्छ ।

हिजो स्थानीय उत्पादन साटासाटबाट आर्थिक विनिमय हुन्थ्यो । अहिले विश्वव्यापीकरणले गर्दा बजारवादको प्रधानता भयो । परम्परागत मिठाइलाई सहरका मिष्ठान्न भण्डारले विस्थापन गर्यो । भारतको दक्षिणमा उत्पादन हुने नरिवल हामीलाई नभई नहुने भयो ।

कोरोनाको विषम परिस्थितिमा छठ कसरी मनाउने ?

म चाडपर्व नमनाऔं भन्दिनँ । म आफैं पनि मिथिला सभ्यता र छठसँग जोडिएको छु । यसप्रति मेरो आस्था छ । तर, छठमा जसको पूजा-आराधना गर्छौं त्यो त हाम्रै जीवनरक्षाकै लागि हो । हामीले दुरी कायम गरेर आराधना गर्यौं भने सायद ईश्वर पनि खुसी हुन्छन् । आखिर जीवन रहृयो भने न चाडपर्व मनाउन सकिन्छ । म यसैले पूजा-आराधना गरौं तर, सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सचेतना पालना गरौं भन्ने अपील गर्दछु ।



तपाईको प्रतिक्रिया