Techie IT
×

आयात घट्यो


रसुवा/रसुुवागढी नाकाबाट हुने आयात घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा रसुवागढी नाका हुँदै ३ अर्ब ७३ करोड ४ लाख ८६ हजार मूल्य बराबरको सामान आएको छ । अघिल्लो आवको सोही अवधिमा १९ अर्ब ४१ करोड ७४ लाख ३६ हजार मूल्य बराबरको सामान आयात भएको थियो । चालु आर्थिक वर्षको पहिलो चौमासिक र अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा १५ अर्ब ६८ करोड ६ लाख ५० हजार मूल्य बराबरको आयात घटेको छ । निर्यात भने शून्य रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । कोरोना महामारीका कारण आयात घटेको रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत ललिता ज्ञवालीले जानकारी दिनुभयो । उक्त नाकाबाट व्यापारिक सामान सहज रूपमा आउन सकेको छैन । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको लामो समय भएको र चिनले दैनिक ५ कन्टेनर मात्रै सामाग्री रसुवागढी नाका ल्याउने गरेकाले राजश्व घटेको हो ।
सामान आयात घटेसँगै राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले पहिलो चौमासिकमा १ अर्ब ४ करोड ५८ लाख ७१ हजार मात्र राजस्व संकलन गरेको छ । पहिलो चौमासिकमा कार्यालयले २ अर्ब ९३ करोड ४ लाख ५२ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । भन्सार विभागले आर्थिक वर्ष ०७७÷०७८ का लागि रसुवा भन्सार कार्यालयलाई ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको थियो । यस नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता–चप्पल, मोटरको ब्याट्री, यूपीएसलगायत वस्तु आयात हुने गरेको छ ।



तपाईको प्रतिक्रिया