Techie IT
×
गृहपृष्ठप्रदेशकर्णाली प्रदेशजनगणनामा ८० प्रश्न

जनगणनामा ८० प्रश्न


आउँदो वर्ष हुने जनगणनाका दौरान एउटा परिवारलाई जम्माजम्मी ८० वटा प्रश्न सोधिने भएको छ ।
विभिन्न तीन विषयमा ८० वटा प्रश्न सोधिने भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । त्यसमा घरपरिवार तथा लगतसम्बन्धी २५ वटा प्रश्न सोधिनेछ । मूल प्रश्नावलीमा विभिन्न ५५ वटा प्रश्न गरी जम्मा ८० वटा सोधिने विभागमा महानिर्देशक नवीनलाल श्रेष्ठले बताउनुभयो । यसपटक सामुदायिक प्रश्नसमेत सोध्ने तयारी छ । यी प्रश्न सम्बन्धित वडा कार्यालयले भर्नेछ ।
महानिर्देशक श्रेष्ठका अनुसार वडामा राजस्व संकलनको स्रोत, कृषि उपज तथा गैरकृषि उत्पादन र निकासीको अवस्था, वडाको आम्दानीको स्रोत, आर्थिक पूर्वाधारको अवस्था, सेवा, सुविधाको पहुँच, विपद्सम्बन्धी विवरणसमेत संकलन गरिने भएको छ ।
व्यक्तिगत प्रश्नतर्फ घरसम्बन्धी विवरण, कृषिमा प्रयोग भएको जग्गा र क्षेत्रफल, पशुपक्षी, वित्तीय सुविधा, पहँुच, व्यावसायिक शिक्षा र तालिम प्राप्त व्यक्ति, सरकारी अनुदानमा बनेका घरको समेत विवरण संकलन गरिने भएको छ । घरपरिवारले प्रयोग गरेका सुविधा, खानेपानी, खाना पकाउने इन्धन, शौचालय, टिभी, फोन, महिलाका नाममा भएका घरजग्गा, घरेलु उद्योगको विवरण, विदेशमा रहेका आफन्त, परिवारका सदस्यले गर्ने काम, काम नगर्ने भए त्यसको कारणसमेत खोजी गरिने भएको छ ।
जनगणनाको कामलाई सहजीकरण र व्यवस्थित गर्न केन्द्रदेखि वडास्तरसम्म विभिन्न समिति बन्ने भएका छन् । अघिल्लोपटक २०६८ सालमा जनगणना गर्दा देश संघीय संरचनामा गएको थिएन । संघीय संरचनामा गएपछिको हुन लागेको यसपटकको जनगणनामा प्रदेशस्तरीय संरचनाको पनि विकास गरिएको छ । प्रदेशमा उपसचिवस्तरको प्रदेश जनगणना अधिकारी रहनेछन् । त्यसका लागि प्रदेशस्तरको जनगणना कार्यालय रहनेछ । जिल्ला जनगणना कार्यालयका रूपमा ८० वटा कार्यालय रहनेछन् । यस्तै ७ वटा प्रदेश कार्यालय रहनेछ ।
यस्तै ७ सय ५३ वटा स्थानीय तहमा ३ सय ४९ वटा स्थानीय जनगणना कार्यालय रहनेछन् । यस्तै हरेक प्रदेशमा प्रदेश समन्वय समिति रहनेछ । ती समितिको अध्यक्षमा प्रदेशका मुख्य सचिव रहनेछन् । यस्तै जिल्ला जनगणना समन्वय समिति रहनेछ, जसको अध्यक्षमा प्रमुख जिल्ला अधिकारी रहनेछन् ।
यस्तै ७ सय ५३ वटै स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति गठन गरिनेछ । यो समितिभन्दा मुनि पनि अर्को समिति रहनेछ, जसलाई वडा गणना सहजीकरण समिति भनेर नाम दिइएको छ ।



तपाईको प्रतिक्रिया