Techie IT
×
गृहपृष्ठराजनीति४ सय रोपनी कब्जाको घोषणा

४ सय रोपनी कब्जाको घोषणा


सोनिका खनाल

नुवाकोटको बेलकोटगढी नपा वडा नं. ७ रातमाटेमा एमसीसी परियोजनाका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका छन् ।
अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर त्यस स्थान कब्जा गरेको घोषणा गरिएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले जानकारी दिनु भयो । एमसीसीले अभिग्रहण गरेको जग्गामा कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने चेतावनी समेत दिएको छ ।
४०० केभी प्रशारण लाईन निर्माणका लागी सरकारले जग्गा अधिग्रहण गरेको हो ।
सडक योजना र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकी सरकारी निकाय मिलेनियम च्यालेन्जसँग ५१ अर्ब ३८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । साथै उक्त परियोजनाबाट नेपालमा पहिलोपटक ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो प्रसारण लाइन बनाइने छ ।
यस योजनाबाट लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माणको योजना अघि सारिएको छ । साथै विभिन्न स्थानमा सब–स्टेशन पनि बनाइने छ । यो प्रसारण लाइन नेपाललाई यहाँ उत्पादित जलविद्युत् भारतलगायतका देशमा निर्यातको मार्ग दिनेछ । आयातमा पनि यसले बाटो खोल्ने पनि अनुमान गरिएको छ । यही योजनाअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले नुवाकोटमा प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
जमीन वरपर र त्यस वडाका विभिन्न स्थानमा नारा जुलुससहित एमसिसी बिरुद्धको अभियान सञ्चालन गरेको थियो । एमसिसि अन्तर्गतको आयोजना निर्माणको लागी अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, झुक्यान र डर धाकधम्की दिएर एमसिसी पक्षधर नेता र प्रशासकहरुले जमीन अधिग्रहण गरेको कारण उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद रंगशाला निर्माण गरिनु पर्ने पनि माग समेत राखेको छ ।
कार्यक्रममा स्थानीय अधिग्रहण पीडित ७० वर्षीय बालकृष्ण न्यौपानेले आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरिएको बताउनु भएको छ । एमसिसीका कर्मचारी, स्थानीय जनप्रतिनिधीहरुको नाम नै उल्लेख गरेर आफूहरु एमसिसीविरुद्ध बोलेमा जे पनि गर्न सक्ने धम्की दिने गरेको उहाँले बताउनु भयो । यस्तै, स्थानियहरुले प्रतिकारका लागि पाँच सय सदस्यीय एमसिसी प्रतिकार समिति पनि गठन गरेको छ ।
एमसिसी नेपालको संविधानभन्दा माथि भई नेपाललाई कानुनी रुपमा अमेरिकी उपनिवेस बनाउने चाल भएकोले निस्तेज बनाउन आफूले जुनसुकै मुल्य चुकाउन तयार रहेको बिरोध कार्यक्रममा सहभागी भएकाहरुले बताएका छन् ।



तपाईको प्रतिक्रिया