Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रियसामान आयातमा चासो

सामान आयातमा चासो


नेपाल–चीन चेम्बर अफ कमर्सले एक विज्ञप्ति जारी गर्दै व्यापारीले विशेष गरी जाडो, गर्मीयाम तथा चाडबाड लक्षित गरी आयात गरिएका विविध सामान आठ–दस महिनादेखि नाकामा अलपत्र अवस्थामा रहेको र कतिपय खाद्य सामग्री तथा फलफूल बिग्रिएको र म्याद सकिने अवस्थामा पुगिसकेको भन्दै समस्यालाई गम्भीरताका साथ लिइदिन आग्रह गरेको हो ।
व्यवसायीका अनुसार रसुवा र तातोपानीमा नेपाल ल्याउन तयारी अवस्थामा रहेका हजारौँ ट्रक मालसामान नाकामा अलपत्र छन् । नाका सुचारु हुने अवस्था नदेखिँदा व्यापारीले दुई देशबीच सडक मार्गबाट हुने व्यापारप्रति नै नकारात्मक दृष्टिकोण बनाउन थालेको, यसले नेपाल चीनबीचको सयौँ वर्ष पुरानो व्यापारिक सम्बन्धप्रति नै नकारात्मक दृष्टिकोण निर्माण हुने र आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन माग गरिएको छ ।
नाका सञ्चालनका लागि नेपाल र चीनका अधिकारीबीच पटकपटक छलफल भए पनि पूर्ण सञ्चालनमा ल्याउन सकिएको छैन । खासगरी व्यापारिक गतिविधिका लागि सिमानामा आवतजावत हुँदा कोरोना सङ्क्रमण फैलन सक्ने डरले चिनियाँ पक्षले सहज महसुस गर्न सकेको छैन । केरुङ नाकामा दैनिक पाँच ट्रक समान चिनियाँ पक्षले ल्याइदिने र त्यो अनलोड गरेर नेपाली गाडीमा चढाउने गरिँदै आएको थियो तर हजारौँ गाडी रोकिएको अवस्थामा यो अत्यन्तै अपर्याप्त रहँदै आएको छ ।
उता तातोपानी नाका पनि दशैँ अगाडि नै पूर्ण रूपमा सुचारु हुने भनिए पनि चिनियाँ पक्षले तातोपानी नाकाबाट दैनिक दुई–चारवटा ट्रकलाई मात्र नेपाल प्रवेशमा अनुमति दिने गरेको छ ।
भन्सारलगायत सम्बन्धित निकायबाट नाका सञ्चालनका लागि प्रयास गरिए तापनि चिनियाँ पक्षबाट कुनै ठोस जानकारी, कारण तथा सूचना आउने गरेको छैन ।
विज्ञप्तिमा समस्या समाधानका लागि विशेष पहल गरी धेरैभन्दा धेरै गाडी नेपाल ल्याउने वातावरण बनाउनु जरुरी रहेको र यसका लागि द्विपक्षीय वार्तामार्फत समस्याको स्थायी समाधान खोज्न सम्बन्धित निकायमार्फत यथाशक्य छिटो पहलका लागि सङ्घले विशेष अनुरोध गरेको छ ।

रसुवागढी केरुङ नाका


तपाईको प्रतिक्रिया