Techie IT
×
गृहपृष्ठप्रदेशबाग्मती प्रदेशसोलार मार्फत १७ मेगावाट बिद्युत आपुर्ति

सोलार मार्फत १७ मेगावाट बिद्युत आपुर्ति


बिदुर/नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सोलार आयोजनामा १७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणाली ग्रिडमा थपिएको छ ।
हालै उक्त विद्युत् ग्रिडमा थपिएको आयोजनाले जनाएको छ । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युत् गृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो । २५ मेगावाट जडित क्षमता रहेको आयोजनामा ८ मेगावाटको काम भइरहेको छ । नयाँ वर्षबाट उक्त ८ मेगावाटबाट समेत विद्युत् थपिने आयोजना प्रमुख विकास बहादुर रघुवंशीले बताउनु भयो । चीनको राइजेन इनर्जी कम्पनीले ठेक्कामा लिई सोलार पावर राखेको हो । सोलार पावर ६ वटा ब्लकमार्फत बिजुली निकालिने आयोजनाले जनाएको छ । सोलार प्यानल राखी त्यसमार्फत दिउँसो उत्पादित बिजुली सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । दैनिक सरदर ५ घण्टा सोलारबाट बिजुली उत्पादन दिने प्राधिकरणले जनाएको छ ।
२५ मेगावाटका लागि ५ सय रोपनी जग्गामा सोलार प्यानल रहने आयोजनाको भनाइ छ । यो नेपालकै सबैभन्दा ठूलो र पहिलो सोलार आयोजना हो । प्लान्ट सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्नेछ । प्लान्ट सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त र कालीगण्डकी ए, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, चिलिमे जस्ता विद्युत् केन्द्र जुन अर्धजलाशययुक्तको जलाशयमा दिउँसो पानी सञ्चित गरिने विद्युत् प्राधिकरणले जनाएको छ । बेलुका र बिहान पिक आवरमा बढी माग हुने समयमा ती विद्युत् केन्द्र सञ्चालन गर्न मद्दत पुग्नेछ । पिक आवरमा विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने प्राधिकरणको अपेक्षा छ ।
विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत प्लान्ट स्थापना गर्न लागिएको हो । नेपाल सरकार र विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सोलार पावर निर्माण भइरहेको छ । सोलार आयोजनाको लागत ३ अर्ब ८० करोड रुपैयाँ छ । ३ वर्षअघि तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २५ मेगावाटको सोलार प्लान्ट विनपा ३ स्थित देवीघाट जलविद्युत् केन्द्र परिसरमा गरेका थिए ।
नुवाकोटमा ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए, २१ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट र सातबिसेमा रहेको तादी ५ मेगावाटको क्षमताको जलविद्युत् केन्द्र सञ्चालनमा छन् । ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी निर्माणाधीन छ ।



तपाईको प्रतिक्रिया